• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भारत भ्रमणबाट फर्किएलगत्तै मन्त्री ज्ञवालीले दिए यस्तो प्रतिक्रिया

    4.3K
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् ।

    नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय छैटौं संयुक्त आयोगको बैठकमा सहभागी भई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा सञ्चारकर्मीहरु सामु मन्त्री ज्ञवालीले अब सीमा समस्यालाई छिटो समाधान गर्न दुवै मुलुक प्रतिबद्ध भएको बताएका हुन् ।

    ‘सबैभन्दा ठूलो कुरा के हो भने यो छलफल (आयोग र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँगको भेट) पछि अब हामी सीमा समस्यालाई छिटो समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका छौं । जहाँ–जहाँ सिमांकन गर्न बाँकी छ । जहाँचाहि नापी गर्न बाँकी छ । जुन भागमा सीमा सम्बन्धी विवादहरु छन्, तिनीहरुलाई छिटो टुंग्याउनको लागि दुवै पक्ष सहमत भएका छन्,’ मन्त्री ज्ञवालीले भने ।

    अब दुवै मुलुकबीचको अन्य सीमांकनसहित सुस्ता र कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा छलफल गर्न बाँकी छ । र, ती छलफलहरु सम्बन्धित संयन्त्रहरुको बैठकले टुंगो लगाउने छन् । उदाहरणका लागि दुई मुलुकबीचको सीमाका समस्या र नापीका सम्बन्धमा संयुक्त सीमा समूहले काम गर्ने छ भने दुई मुलुकबीच विवादित क्षेत्रको रुपमा रहँदै आएको छ ।

    नेपाल र भारतले आ–आफ्नो दाबी प्रस्तुत गरिरहेको क्षेत्रहरु सुस्ता र कालापानी क्षेत्रको भने दुई मुलुकबीच रहेको परराष्ट्र सचिव स्तरीय संयन्त्रले काम गर्ने छ । सन् २०१४ मा परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगले सुस्ता र कालापानी क्षेत्रको विवादको सम्बन्धलाई वार्ता गर्नको लागि परराष्ट्र सचिव स्तरीय संयन्त्रको स्थापना गरेको हो ।

    ‘जहाँसम्म संयन्त्रहरुको बैठकको कुरा हो । हामीले दुवैतर्फबाट वार्ताको प्रक्रियालाई अघि बढाएका छौं । राजनीतिक ढंगले पनि कुराहरु बढाउँदै जाऔं भन्ने हो । अर्को ढंगबाट पनि जाने भन्ने हो,’ मन्त्री ज्ञवालीले भने । मन्त्री ज्ञवालीले आइतबार भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग पनि सीमाको विषयमा कुरा गरेको जानकारी दिए ।

    ज्ञवालीले काठमाडौं आउनुअघि सिंहसँग दिल्लीस्थित उनकै निवासमा गएर भेटवार्ता गरेका थिए । ‘माननीय राजनाथ सिंहले यो विषय (सीमा विवाद) मा छलफल गर्न सकिन्छ भन्नु भएको छ । जहाँसम्म भारतको पोजिसनको कुरा हो, हामीले बुझेकै कुरा हो । (सीमा विवाद) ठ्याक्कै सहमतिमा पुगिसकेको अवस्था त होइन । त्यस कारणले भारतका आफ्नै पोजिसनहरु छन्,’ ज्ञवालीले भने ।

    उनले रक्षामन्त्री सिंहसँगको वार्ताका दौरान नेपाल र भारतबीचको डिफेन्स सहकार्यको विषयमा पनि छलफल गरेको बताए । उनले भने,‘खास गरी दुई मुलुकका सेनाबीच विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्यको कुरा भएको हो ।’ मन्त्री ज्ञवालीले नेपाल सेनाले दार्जुलाको सदरमुकामबाट लिपुलेक जाने बाटोको रुपमा रहेको छाङरु क्षेत्रमा बाटो निर्माणको लागि भारतीय सेनासँग सहकार्य गरेर विष्फोटक पदार्थ प्रयोग गरी काम गर्ने दुई मुलुकका सेनाबीचमा यस अघि नै भइसकेको जानकारी पनि दिए ।

    मन्त्री ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई मुलुक बीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुद बनाउने दिशामा योगदान पुगेको विश्वास व्यक्त गरे । उनले भने,‘आगामी दिनमा थप दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरु तथा वार्ता हुने र सम्बन्धलाई थप मजबुद बनाउने विश्वास मैले लिएको छु ।’

    परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । मन्त्री ज्ञवालीले कोभिड १९ को भ्याक्सिनबारे छलफल भएको जानाकारी दिए ।

    नेपालले दियो भारतीय कम्पनीले उत्पादन गर्ने कोरोना खोपलाई आपत्कालीन अनुमति

    औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी गराए ।

    यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो । बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।

    विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो ।

    कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

    विभागका सूचना अधिकारी केसीका अनुसार हालसम्म ३ वटा आयातकर्ताहरुले आवदेन दिएका थिए । केसीले भने,‘निवेदन दिएकामध्ये २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्‍याउन भनिएको छ । हाललाई भने ‘कोभिसिल्ड’ खोप ल्याउनका लागि अनुमति दिएका छौं ।’

    हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

    चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

    विश्वका विभिन्न देशहरुमा तेस्रो चरणको अनुसन्धामा सफल रहेको दाबी गरिएका खोपहरुको आपत्कालिन प्रयोग सुरु भइसकेको छ ।

    भारतमा कोरोना खोप कार्यक्रम कसरी भयाे सुरु ?

    शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु भएकाे छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ?

    भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरुले कोरोना खोप पाउनेछन् । सबै सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीहरुको संख्या ८० लाखदेखि एक करोडसम्म रहेको बताइएको छ । त्यसपछि करिब दुई करोड फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।

    त्यसपछिको प्राथमिकतामा ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइनेछ । भारतमा यो संख्या २७ करोड छ । सबैभन्दा पहिला जुन क्षेत्रमा कोरोना संक्रमण धेरै छ, सोही क्षेत्रका मानिसहरुलाई बढी प्राथमिकता दिइनेछ । त्यसपछि बाँकी जनसंख्याको पालो आउनेछ ।

    भारतमा कुन खोपले अनुमति पाएको छ ?

    भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ -कोभिसिल्ड र कोभ्याक्सिन । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।

    भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ । भारतले आगामी जुन महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप दिने लक्ष्य राखेको छ ।

    भारतमा कोरोना खोप निःशुल्क

    भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले सबै नागरिकलाई निःशुल्करुपमा कोरोना खोप उपलब्ध गराइने बताएका थिए । यद्यपि त्यसपछि भने अहिलेसम्म आधिकारिकरुपमा कुनै अभिव्यक्ति सार्वजनिक भएको छैन ।

    सेरम इन्स्िटच्युटले आफूले सरकारलाई उपलब्ध गराउने खोपको भाउ दुईदेखि तीनसय भारु रहने बताएको छ । भारत बायोटेकले भने आफ्नो खोपको भाउ खरिदको परिमाणमा निर्भर रहने बताएको छ । साढे ३८ लाख डोज खोपको लागि २९५ रुपैयाँ तोकेको कम्पनीले ५५ लाख डोज खरिद गर्दा सरकारलाई २०६ भारुमा खोप उपलब्ध गराएको छ ।

    भारतमा कोरोना खोपलाई अनुमति दिनको लागि हतार गरेको भन्दै सरकारको आलोचना भइरहेको छ । कोभिशिल्ड खोपको प्रभावकारिता अन्य मुलुकमा पनि परीक्षण भइसकेकाले यसमा मानिसहरुको विश्वास देखिए पनि कोभ्याक्सिनको विषयमा भने मानिसहरुले आशंका व्यक्त गर्दै आएका छन् ।

    यो खोपको अहिले अन्तिम चरणको परीक्षण चलिरहेको छ । यद्यपि सरकारले भने यो खोप पनि सुरक्षित र प्रभावकारी रहेको दाबी गर्दै आएको । तर, यसको प्रभावकारिताको विषयमा भने कुनै जानकारी दिइएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ