• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कालिकाेटमा बाबुले लगाए आफ्नै घरमा आगो, दुई छोराको मृत्यु

    352
    SHARES

    कालीकोट । कालीकोटमा बाबुले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ । एक छोरा घाइते भएका छन् ।

    जिल्लाको नरहरिनाथ गाउँपालिका- ७, दुधेलीस्थित भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा दुई छोराको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

    डीएसपी शाहका अनुसार आगोले जलेर मृत्यु हुनेमा उनका १२ वर्षीय छोरा गणेश बटाला र ७ वर्षीय मनबहादुर बटाला रहेका छन् । त्यस्तै अर्का ४ वर्षीय छोरा खगेन्द्र बटाला घाइते भएका छन् । घाइते खगेन्द्रको नरहरिनाथ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

    अत्याधिक मदिरा सेवन गरेका भैरेले घरायसी झगडाका कारण बुधबार बिहान चारबजे बजेतिर आगो लगाएको डीएसपी शाहले बताए । उनले घर आगो लगाए लगतै विष सेवन गरेका थिए । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको उपचार भैहरको छ ।

    उता हिमाली जिल्ला मनाङमा माइनस तापक्रम रहेका बेला पनि आगलागी भइरहेको छ । आगलागीले हालसम्म करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको प्रारम्भिक अनुमान छ ।

    नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका अनुसार थान्चोक र कोतोको पारिपट्टि रहेको कोटेबाट आगलागी सुरु भएको हो । आगो अहिले रैंदु जंगलमा फैलिएको छ । ‘सुकेको पातपतिंगर र सालको काठमा आगो सल्किएको छ, निभाउन सकिएको छैन,’ उनले भने, ‘आगोलाई गाउँतिर आउन नदिन अनेक उपाय लगाएका छौं । जंगल भने सखापै बनायो ।’

    मंसिर ११ देखि आगलागी भइरहेको छ । आगलागी भइरहेको ठाउँ हिउँ पर्ने र जम्ने ठाउँ हो । तर यस वर्ष हिउँ खासै परेको छैन । एक साताअघि भ्राताङदेखि माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको थियो । आगलागी भइरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार आगलागी डरलाग्दो गरी फैलिएको छ । मर्स्याङ्दीको किनारदेखि पहाडको टुप्पोसम्म जंगल सखाप बनाएको छ ।

    आगलागी फैलिएर ३ हजार ५ सय मिटर उचाइसम्म पुगेको छ । तर आगलागी भएको सबै ठाउँमा पुग्न भने नसकिएको बताउँछन् एक्याप लमजुङका प्रमुख लेखनाथ गौतम । ‘मनाङमा तापक्रम रातको समयमा माइनस छ । हामी बस्ने ३ हजार ५ सय मिटर उचाइमा रातमा माइनस १३/१४ डिग्री सेल्सियससम्म झर्छ,’ उनले भने, ‘सुकेको रूखमा सल्किएको आगो रातभरि रहने र भोलिपल्ट हावा चलेपछि फेरि सुरु हुँदो रहेछ ।’

    उनका अनुसार हिउँ नपरेकाले जमिन सुक्खा छ । पातपतिंगर सुकेर झरेका छन् । शीत पनि नपर्दा मुढा/ठुटामा सल्किएको आगो माइनस डिग्रीमा पनि निभ्न नसकेको उनले बताए । ‘मंसिर ११ बाट सुरु भएकामा पुस १३ मा आगलागीले उग्ररूप लियो,’ उनले भने, ‘कम्तीमा २ सयदेखि ३ सयवटा झारल, घोरलको बासस्थानलाई असर पुर्‍याएको देखिन्छ । बहुमूल्य जडीबुटी पनि सखाप बनाएको अनुमान गर्न सकिन्छ ।’ आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

    उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, थार, हिमचितुवाजस्ता जनावर पाइने एक्यापले जनाएको छ । यार्चागुम्बु, पाँचऔंले, नीरमसी, कुटकी, पदमचाल, पाँचऔंले, वनलसुनलगायत जडीबुटीसमेत पाइन्छ । ‘कति वन्यजन्तु, वनपैदावार र जडीबुटीमा क्षति पुग्यो भन्ने त अनुमान मात्रै गर्न सक्छौं, यकिन गर्न सकिएको छैन,’ एक्याप प्रमुख गौतमले भने । उनले आगो सल्काउनेको खोजी भइरहेको बताए ।

    ‘घाँस र च्याउ राम्रो आउँछ भनेर आगो लगाएको हुन सक्छ । सिकार गर्न पनि आगो लगाएको हुन सक्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर आगो निभाउने प्रयास गरिरहेको बताए । ‘हामी मुख्य बाटोबाट दुई–अढाई घण्टा हिँडेर आगलागी भएको ठाउँसम्म पुग्यौं । आगो नियन्त्रणमा लियौं । तर अर्को ठाउँमा आगो फैलिरहेको छ,’ उनले भने । उनले आगो अझै नियन्त्रण बाहिर रहेको बताए ।

    आगलागी नियन्त्रणमा लिन ५ सय मिटर लामो र ३ मिटर चौडाइको अग्निरेखा बनाइएको छ । ‘आगोलाई मानव बस्तीमा आउन नदिन अग्निरेखा बनाएका छौं । टेलिफोनको टावरलाई सुरक्षित राखिएको छ । जंगली जनावर, काठदाउरा र जडीबुटी नाश भए । सायद बस्तीमा आउँदैन होला,’ उनको आकलन छ ।

    उनले ठाडो भीरमा जान नसकिएको र त्यही ठाउँमा आगो फैलिरहेको बताए । आगो निभाउन ताचै गाउँका करिब ५५ घरधुरीका स्थानीय दैनिक खटिएका छन् । सेना, प्रहरी, एक्यापका कर्मचारी गरी दैनिक १ सयदेखि डेढ सय जना खटिरहेको प्रजिअ लामिछानेले बताए । आगो निभाउन बेल्चा, गैंची, आगो निभाउने साधन, स्याउलालगायत प्रयोग गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ