• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    बाहिरियो बालुवाटारको षडयन्त्र, हेर्नुहाेस भयाे यस्ताे खुलासा

    3.3K
    SHARES

    काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा आफ्नो दबाब सिर्जना गर्न खोजेको खुलासा भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीकै निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मीप्रसाद गौतमको नेपाल कानुन आयोगमा सरुवा गरिएको पाइएको छ ।

    उच्च स्रोतका अनुसार उनको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई ल्याइएको छ । सहसचिव गौतम नेतृत्वको टोलीले नेकपा विवादको मुद्दा हेरिरहेको थियो । निर्वाचन आयोग स्रोतका अनुसार पछिल्लो समय गौतमलाई बालुवाटार (ओली पक्ष) ले सूर्य चिन्ह र पार्टीको बैधानिकता दिलाउनका लागि निरन्तर दवाव दिएको थियो ।

    प्रधानमन्त्री ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सहसचिव गौतमको सरुवा गरेका हुन् । गौतमको सरुवालाई पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल लगायतहरुले बालुवाटारले बुनेको जालको रुपमा लिएका छन् ।

    उनको सरुवा गरे लगतै मंगलबार बेलुका नेता योगेश भट्टराईले ट्वीट गर्दै सरकारको नियतमाथि शंका र षडयन्त्रको आभास भएको उल्लेख गरेका थिए । ‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका बरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ नेता भट्टराईले ट्वीटरमा लेखेका छन् ।

    आयोगमा यतिबेला प्रचण्ड–नेपाल पक्ष वा ओली पक्ष कसको समूह नेकपा र सूर्य चिन्ह कसले पाउने भन्ने बारेको मुद्धा विचाराधीन रहेको छ । दुई पार्टीको विचाराधीन मुद्धा हेरिरहेको उच्च कर्मचारी सरुवालाई ओलीका विरोधीहरुले बालुवाटारले अर्को षडयन्त्र गरेको भन्दै आरोप लगाएका छन् भने कतिले यसलाई सामान्य रुपमा लिएका छन् ।

    यसैबीच प्रधानमन्त्रीओलीले देशैभर सर्कुलर जारी गरेको खुलासा भएको छ । ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन (सर्कुलर) पठाएको खुलासा भएको हो ।

    अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको जानकारी ओलीले तल्लो कमिटीसम्म पठाएका छन् ।

    केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी गराउन पठाइएको सर्कुलरमा राजनीतिलाई पद,पैसा र परिवारको हितका रुपमा मात्रै बुझ्ने प्रचण्डको स्वार्थी चिन्तनले पाटीलाई विभाजनको अवस्थामा पुर्याइएको दावी गरिएको छ ।

    सर्कुलरमा भनिएको छ,’यस परिस्थिति निर्माणका लागि प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने,नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंशकारी मनशाय मुख्य जिम्मेवार छ । पार्टी नेतृत्व परिवर्तनका लागि ४ महिनापछि हुने महाधिवेशन कुर्न नसक्ने र प्रधानमन्त्री परिवर्तनका लागि अर्को जनादेश पर्खिन नसक्ने उहाँहरुमा अन्तर्निहीत अलोकतान्त्रिक चरित्रले यसमा निर्णायक भूमिका खेलेको छ ।’

    ओलीले पुस ४ गते आफू प्रचण्ड निवास खुमलटार पुगेर सहमतिको अन्तिम प्रयास गर्दा पनि प्रचण्डले दुरासययुक्त आरोपपत्र फिर्ता लिन नमानेको र उल्टो राजीनामा गर्नु पर्ने हठ नछाडेको सर्कुलरमा उल्लेख छ । अरुलाई बैठकमा अल्मल्याएर प्रचण्डहरुले प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न सांसदहरुको फर्जी हस्ताक्षर बोकेर दौडेपछि विघटन गर्नुपरेको कार्यकर्तालाई जानकारी दिइएको छ ।

    सर्कुलरमा भनिएको छ–पुस ४ गते प्रचण्ड निवास खुमलटारमै पुगेर दुराग्रहयुक्त प्रस्ताव फिर्ता लिन,पार्टीको विशेष महाधिवेशनको तयारी गर्न र कमरेड वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने निर्णयका लागि सहयोगी बन्न बारम्बार आग्रह गर्नुभयो । तर कमरेड प्रचण्डले यी सबै प्रस्तावलाई अस्वीकार गर्दै तत्काल राजिनामा गर्नुपर्ने हठ गरिरहनुभयो ।

    ओली पक्षको सर्कुलरमा प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई अध्यक्षबाटे हटाउने प्रस्ताव पार्टीको कुनै कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट नगरेको र संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज बैधानिक बाटो पनि अलम्बन गर्न नसकी षड्यन्त्र गरेको उल्लेख छ ।

    कार्यकर्तालाई कुनै अलमलमा नरहन भन्दै ओली पक्षले प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा अप्रत्याशित रुपमा प्रधानमन्त्रीविरुद्ध पेश गरेको अभियोगत्रनै पार्टी विभाजनका लागि ल्याइएको सर्कुलरमा उल्लेख छ ।

    प्रचण्डहरुले महाधिवेशन समेत नपर्खिने भएपछि ओलीले सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्याण्डेट सहितको एकताको विशेष महाधिवेशन यथाशीघ्र अयोजाना गर्न प्रचण्डलाई आग्रह गर्दा पनि नमानेको सर्कुलरमा जनाइएको छ ।

    यस्तै यता ओली इतर समूहका नेताद्वय पुष्पकमल दाहाल’प्रचण्ड’ र माधवकुमार नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा साढे १२ बजेतिर पुगेका दाहाल-नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधिसभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका छन् ।

    पुस ५ मा प्रतिनिधिसभा विघटनपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो ।

    निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै दाहाल नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको स्रोतले जनाएको छ ।

    प्रचण्डको कडा चेतावनी- सूर्य चिन्ह र नेकपा हाम्रै हो, खोस्यो भने ‘आँधीबेहरी’आउँछ

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चिन्ह आफ्नै पक्षमा रहेको र त्यसलाई कसैले खोस्ने प्रयास गरे आँधीबेहरी आउने कद्सा चेतावनी दिएका छन् ।

    गण्डकी प्रदेश कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा प्रचण्डले आफूहरुसँग ७० प्रतिशत रहेकाले पार्टीको नाम र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दाबी गरे । “नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हाम्रै हुन्छ । सूर्य चिह्‍न पनि हाम्रै हुन्छ । तपाईं लेखेर राख्नुस् । कसैले खोस्‍न सक्दैन । खोस्यो भने आँधीबेहरी आउँछ,’ उनले चेतावनी दिए ।

    उनले निर्वाचन आयोगसँग कुराकानी गर्दा न्याय गर्ने विश्वास पलाएको बताए । ‘आयोग यो विषयमा गम्भीर भएको छ । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा हामी धेरै छौँ,’ उनले भने, ‘त्यसैले ढुक्क हुनुभए हुन्छ निर्णय हाम्रै पक्षमा हुन्छ।’

    ओली मानिसहरुलाई धम्काउने र प्रतिगमनमा रमाउने मानिस भएको उनले आरोप लगाए। उनले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी समेत दिए ।

    उनले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले ?’

    सत्ता र शक्तिको प्रयोग गरेर मानिसहरुलाई धम्काउने, तर्साउने तथा पार्टी एकताको मर्म र भावनामाथि प्रहार गर्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको प्रचण्डले आरोप लगाए ।

    यस्तै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दै गरेको टिप्पणीलाई लिएर पनि दाहालले आपत्ति जनाएका थिए । ओलीले प्रधानमन्त्री पदका लागि पार्टी फुटाएको आरोप लगाए ।

    उनले सडक संघर्षमा टाउको फुटाउने पालो आफूहरुको आएको समेत बताए । उनले भने, ‘अब गिरिजा बाबुपछि सायद माधव जी म, प्रकाश जी, झलनाथ एकचोटी सड्कमा टाउको फुटाउने हाम्रो पालो आएको हो कि ? तपाईहरु तयार हुनुहुन्छ ?’

    अध्यक्ष दाहालले ‘जबज’ माधव नेपालले नभई प्रधानमन्त्री केपी शर्मा ओलीले नै छोडेको दाबी गरे । अध्यक्ष दाहालले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए ।

    ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर छन्’, प्रचण्ड भने । माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि उनले बताएका थिए ।

    ओलीले कम्युनिष्ट आन्दोलन त्यागेको खबर सुन्न बेर छैन- माधव नेपाल

    प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट निष्ठा नरहेको नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् । कास्कीमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीमा कम्युनिष्ट संस्कार समेत नभएको बताए ।

    ‘केपी ओलीले कम्युनिष्ट आन्दोलन त्याग गरेको समाचार तपाइँले सुन्न बेर छैन । कम्युनिष्ट पार्टीबाट पलायन भएको खबर सुन्न बेर छैन’, नेपालले भने । ओलीमा गुट चलाउने प्रवृत्ति रहेको बताए । ‘ओलीले गुट चलाउनु हुन्छ । त्यहाँ छलफल हुँदैन । आदेश दिन्छन् । भक्तजनहरुले आदेश पालना गर्छन्’, नेपालले भने । ओलीले आसेपासे, हनुमानहरुलाई कम्युनिष्ट संस्कार नसिकाएको बताए ।

    ओलीमा कम्युनिष्ट संस्कार नभएको र बा संस्कार रहेको अध्यक्ष नेपालले बताए । ‘ओलीमा बा संस्कार छ, त्यो सामन्ती संस्कार हो’ नेपालले भने । ओलीमा आफ्नो प्रशंसा गर्नेलाई मात्रै जिम्मेवारी दिने संस्कार रहेको बताए । ‘रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने ।

    २०७१ मा नेतृत्वमा आए पछि ओलीले पार्टी कार्यालय सुनसान बनाएर घरबाट पार्टी चलाएको नेपालले बताए । ओलीलाई कार्बाही गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र आफू भएर पार्टी कार्यालयबाट काम गर्न थालिएको उनले बताए ।

    ओलीमा पहिलेबाटै संस्थागत निर्णयमा विश्वास नरहेको पनि उनले बताए । ओलीले अहिले संविधानमाथि घात गर्ने र कम्युनिष्ट आन्दोलन निमिट्यान्न पार्ने प्रयासमा रहेको अध्यक्ष नेपालले बताए । तर, अझै गल्ती स्वीकार गरेर फर्कन ठाउँ रहेको समेत उनले बताए ।

    ‘गल्ती स्वीकार गर्नुहोस्, प्रतिनिधिसभाको विघटन बेठिक भयो भन्नुहोस् । क्याबिनेटमा सच्याउनु सक्नुहुन्छ । त्यसको संवैधानिक महत्व नभए पनि राजनीतिक महत्व हुन्छ’, उनले भने । तर, नसच्चिए इतिहासको रछ्याउनमा फालिने चेतावनी दिए ।

    ओलीसँग २५ प्रतिशत पनि केन्द्रीय सदस्य नरहेको नेपालले बताए । ‘उहाँले अब गुट चलाउनु हुन्छ । केपी ओली फाउण्डेस गुट’, नेपालले भने । तर, सूर्य चुनाव चिन्ह भने कसैले खोस्न नसक्ने बताए । ४३४ केन्द्रीय सदस्यहरु मध्ये आफूहरुसँग ३१५ जना रहेको बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ