• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कहिलेसम्म जारी रहन्छ बिहानपख बाक्लो हुस्सु लाग्ने क्रम ?

    307
    SHARES

    काठमाडाैं । तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा अस्ति सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो ।

    बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो र अस्ति तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको हो । आज पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

    बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् ।

    यसैबीच काठमाडाैंमा पनि अस्ति सोमबारदेखि आकाश धुम्म हुन थालेको छ । अघिल्लो हप्ता बदली भएर खुलेको आकाश फेरि धुम्म भएको हो । आकाश खुलेपछि काठमाण्डौमा दिउँसो गर्मी अनुभव हुन थालेको थियो । तर अस्तिदेखि दिउँसो चिसो हुन थालेको छ । अस्ति काठमाडाैंको अधिकतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस रहेकोमा हिजो घटेर १८ दशमलव ६ डिग्री सेल्सियस कायम भएको थियो ।

    आज पनि काठमाडाैंको तापक्रम यही हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौमा बाक्लो हुस्सु नलागे पनि बिहानपख कुहिरो र दिउँसो तुवाँलो लाग्ने गरेको छ । काठमाडाैंको मौसमले हवाइ उडानमा असर नगरे पनि तराईमा दिउँसोसम्म बाक्लो हुस्सु लाग्ने गरेका कारण कतिपय उडान रद्द र कतिपय ढिलो हुने गरेका छन् ।

    आज पहाडी भेगमा आंशिक बदली रहने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ भने बाँकी ठाउँहरुमा मौसम सफा रहने छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ