काठमाडौँ । नेपाली बजारमा आज पनि पहेंलो धातु सुनको मूल्य घटेको छ । छापावाला सुन आइतबार प्रतितोला २३ सय रूपैयाँले घटेकोमा आज पनि ८०० रूपैयाँले घटेको हो । आइतबार ९३ हजार रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन आज प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेर एक हजार २३० रूपैयाँमा कारोवार भइरहेको छ ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित भएका हुन ।
साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन ।
एसोसिएटस उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन ।
साधारणसभाको गत शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो ।
मुलुकको संघीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासंईका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एसोसिएट सदस्य तथा वस्तुगत संघहरु यस महासंघमा आबद्ध छन् ।
प्रतिक्रिया