काठमाडौं । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४-० ले पराजित गरेको छ । सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । उता दोस्रो स्थानको रियल मड्रिड भने ओसासुनासंग गोलरहित बराबरीमा रोकिएको छ ।
ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले तीन गोल पहिलो हाफमा गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो । खेलको १२औं मिनेटमै एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं
मिनेटमा मेस्सीले प्रिकिकमा गोल गर्दै पहिलो हाफमै ३-० को अग्रता दिलाए । ६३औं मिनेटमा ग्रिजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को अग्रता बनाए । ७८औं मिनेटमा जेसस भालेजो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ग्रानडा १० खेलाडीमा समेटियो । तर बार्सिलोनाले गोल थप्न भने सकेन ।
जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।
यस्तै लिग लिडर एसी मिलानले इटालियन सिरी ए मा दोस्रो स्थानको इनटरमाथि ४ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा टोरिनोलाई २-० ले पराजित गर्दै मिलानले ४ अंकको दूरी कायम गरेको हो ।
अघिल्लो खेलमा युभेन्ट्ससँग पराजित भएको मिलानले फेरि जित यात्रा थालेको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलानले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको २५औं मिनेटमा राफेल लिएओले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा फ्रांक केसील पेनाल्टीमा मिलानका लागि दोस्रो गोल गरे ।
जितपछि १७ खेलबाट ४० अंकसहित मिलान शीर्ष स्थानमा छ । एक खेल कम खेलेको इन्टर ३६ अंकसहित दोस्रो स्थानमा छ । इन्टरले आइतबार राति तेस्रो स्थानको रोमासँग खेल्दैछ । रोमाको ३३ अंक छ ।
प्रतिक्रिया