• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    प्रधानमन्त्री ओलीलाई कसले दियो थ्रेट ? सुरक्षा चुनौति बढेको भन्दै गृह मन्त्रालयले बढायो सुरक्षा

    343
    SHARES

    काठमाडौं । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरेको छ ।

    सुरक्षा निकायको विश्लेषणका आधारमा गृह मन्त्रालयले सतर्कता र सुरक्षार्थ खटिने अधिकारीहरुको संख्या बढाएको छ । राष्ट्रपति सार्वजनिक कार्यक्रममा खासै नजाने भए पनि प्रधानमन्त्री ओलीको गतिविधि धेरै हुने भएकाले खासगरी ओलीलाई लक्षित गरेर विशेष सुरक्षा सतर्कता अपनाइएको स्रोतले बतायो ।

    गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए ।

    हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट ३५ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरीबाट डीएसपी र सशस्त्रबाट निरीक्षकको कमाण्डमा टोली खटिने गरेको छ ।

    गृह स्रोतका अनुसार प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनसक्ने, कफन बाँधेर प्रदर्शन गर्ने, कार्यक्रमलाई अवरोध पुर्याउने जस्ता गतिविधि हुनसक्ने भएकाले उनी जाने कार्यक्रमस्थलमा पनि विशेष निगरानी राख्न भनिएको छ ।

    ओली जाने कार्यक्रममा हुनसक्ने सम्भावित विरोधलाई लक्षित गरेर कालो कपडा, मास्क वा विरोध जनाउन सक्ने हरेक चिजलाई निषेध गर्ने नीति प्रहरीले लिएको छ । विभिन्न कार्यक्रममा कालो मास्क लगाउने व्यक्ति पनि निकालिएका छन् । सरकार विरोधी नारा लगाउने व्यक्तिलाई समेत प्रहरी निगरानीमा राख्न थालेको छ ।

    ओलीको कदमलाई गैरसंवैधानिक भन्दै पार्टीभित्रै र बाहिरबाट आलोचना भइरहेका बेला आगामी दिन ढुंगामुढासमेत गरिन सक्ने विश्लेषण सुरक्षा निकायको छ । ‘चुनाव पनि आउन लागेकाले सुरक्षा बढाउनुपर्ने आवश्यकता देखियो’, गृह स्रोतले भन्यो, ‘अन्य केही मन्त्रीलाई पनि सुरक्षा बढाइएको छ ।’ विशेषतः ओली समूहका नेताहरुको सुरक्षा बढाइएको छ ।

    पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पनि सुरक्षा चुनौति रहेको विश्लेषण गर्दै प्रहरीले सुरक्षा बढाएको छ । ओली समूहमा गएका पूर्वमाओवादी नेता पनि निशानामा रहेको विश्लेषण गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई चितवन र खानेपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । त्यसैले मन्त्री सहभागी हुने कार्यक्रम र हिँडडुल हुने स्थानमा विशेष सतर्कता अपनाइएको छ ।

    यसैबीच, गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले पनि सरकारसँग सुरक्षा माग गरेका छन् । उनले सुरक्षा थ्रेट रहेको बताउँदै निजी सुरक्षा अधिकृत मागेपछि प्रहरी प्रधान कार्यालयले एक जना प्रहरी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ