• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाघले गुडिरहेको बाइकबाटै मान्छे झम्टेर लगेपछि बर्दिया प्रशासनले लगायो यस्तो प्रतिबन्ध, सबैले थाहा पाउनुपर्ने

    2.6K
    SHARES

    बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ।

    शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए।

    ‘मैले निकुञ्ज प्रशासनलाई फोन गरि आजै बेलुकादेखि मोटरसाईकल, साईकल र अटो रिक्सा चलाउन रोक लगाउनू भन्ने आदेश गरिसकेँ,’ प्रजिअ अधिकारीले भने, ‘त्यो बाहेकको समयमा पनि आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन दिएको छु।’

    दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागू गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागू गर्नुपरेको अधिकारीले बताए।

    बाघको आक्रमणबाट मृत्यु भएकी कैलाली लम्किचुहा नगरपालिका-४ कौवापुरकि ५० वर्षिया नन्दकली थापाको शव आफन्तले बुझेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार पोष्टमार्टम पछि शनिबार बेलुका आफन्तले शब बुझेर लगेका हुन्।

    प्रजिअ अधिकारीले पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने बारेमा निकुञ्ज प्रशासनसँग थप कुरा हुने जानकारी दिए। थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको थियो।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताए। ‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ।’

    शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो। मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्। छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै लगेको प्रहरी समक्ष बताएका छन्।

    बाघको आक्रमणबाट मोटरसाइकल ढलेको र पछि आफूले निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको सन्तोषले प्रहरीलाई भनेका छन्। घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५/६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

    बाघले मोटरसाइकलमा झम्टिएर मानिस बेपत्ता पारेपछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको भए पनि फेला पार्न सकेको थिएन।

    शनिबार बिहानैदेखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बाघले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताए। बाघले गुडिरहेको मोटरसाइकलमा झम्टिएर मानिस मारेको यस्तो घटना हालसम्म नेपालमा सुनिएको थिएन।

    यसैबीच उता पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए ।

    जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो । कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । ‘तत्कालै हामी जाँदा अलिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकुञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घाइते बाघ एकछिनमै मर्‍यो ।’

    इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको कान्तिपुरलाई बताए । ‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’

    प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।

    दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया