• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौंमा ८ जना पैदलयात्रीको मृत्यु, थप विवरणसहित

    36.4K
    SHARES

    काठमाडौं । पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा बाटो काट्ने क्रममा ३ जनाको निधन भयो । ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुरको सातदोबाटो–ग्वार्काे सडकखण्डको बीएण्डबी अस्पताल अगाडि दुईजना र भक्तपुरमा एक जनाको ज्यान गएको हो ।

    योसँगै सवारी दुर्घटनासहित जोड्दा पछिल्लो १५ दिनमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

    गत बिहीबार ग्वार्काेको बीएण्डबी अस्पताल अगाडि आकाशेपुल मुनिबाट बाटो काटिरहेका अस्पतालका दुईजना कर्मचारीले टाटा सुमोको ठक्करबाट ज्यान गुमाए । बत्तीविहीन आकाशे पुलमा हिँड्न असुविधा भएपछि सो ठाउँमा अधिकांश त्यसमुनिबाट सडक पार गर्छन् ।

    माइतीघर–बानेश्वर, रत्नपार्क–भद्रकाली–सिंहदरबार खण्डको भद्रकाली लगायतको आकाशेपुल छेउबाट धेरैले असुरक्षित रुपमा बाटो काट्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकाका अधिकांश आकाशेपुल खाली हुन्छन् । रत्नपार्क लगायत क्षेत्रका आकाशेपुल व्यापारिक अड्डा बनेका छन् ।

    ट्राफिक प्रहरी महाशाखाका अनुसार जेब्रा क्रसिङ र आकाशेपुल जथाभावी बाटो काट्नेहरूमाथि असुरक्षा बढेको छ । बिहीबारको दुर्घटनामा चाहिँ बत्ती नभएकाले पैदलयात्रुले आकाशेपुल प्रयोग नगरेको ट्राफिक प्रहरीको ठहर छ ।

    त्यसो त काठमाडौंका सडकमा पैदलयात्रीको सुविधालाई ध्यानमा राखिएको छैन । त्यसमाथि पैदलयात्रीहरु आफैंले लापरबाही गर्छन् । यसबाट दुर्घटना बढेको सडक सुरक्षासम्बन्धी जानकारहरू बताउँछन् । काठमाडौंका चौडा सडकमा सवारीको गति तीव्र हुन्छ । त्यसैबीचमा पैदलयात्रुले लापरबाही गर्दै बाटो काट्दा धेरै दुर्घटना हुने गरेको उनीहरु बताउँछन् ।

    पैदल यात्रुमैत्री पूर्वाधार नबनेको सडकमा यात्रुहरूले पनि लापरबाही गर्ने गरेको सडक सुरक्षासम्बन्धी जानकार पदमबहादुर शाही बताउँछन् । पैदलयात्री र सवारी चालकको लापरबाहीले सडक दुर्घटना बढेको उनले बताए ।

    ‘दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढीरहँदा सरकारी स्तरबाट कमीकमजोरीको कारण खोजी नहुनु अर्को दुःखद् पक्ष छ’, शाही भन्छन्, ‘पैदल यात्रु त सबै पैदलयात्रु नै हुन्, सवारी धनीहरू पनि तरकारी किन्न जाँदा पैदलयात्री नै हुन्छन् ।’ सरकारले सडक र सवारीमा जति लगानी गरे पनि पैदलयात्रीको सुरक्षालाई बेवास्ता गरेको उनी बताउँछन् ।

    २० वर्ष पहिले फुटपाथको प्रावधान नै नरहेको सम्झदै शाही भन्छन् ‘अहिले फुटपाथ बनाउँदै गइयो तर खाल्डोमा पुर्याएर फुटपाथको अन्त्य गरिएको छ । यो पनि सडक दुर्घटनाको मुख्य कारण हो ।’

    आकाशेपुल वा जेब्रा क्रसिङबाट बाटो नकाट्ने पैदलयात्रीको प्रवृत्ती पनि ठूलै समस्या भएको उनी बताउँछन् । भन्छन्, ‘पैदलयात्रुकै सुविधाका लागि बनाइएका संरचनाहरु चाहिँ कि रित्ता रहन्छन् कि त त्यहाँ व्यापार चलेको हुन्छ ।’

    सहरी पूर्वाधार विज्ञ डा. किशोर थापा काठमाडौंमा जथाभावी बाटो काट्नु पैदलयात्रीको बाध्यता भएको बताउँछन् । स्थानीय सरकारले जेब्राक्रसिङको साटो आकाशेपुल बनाएका छन्, जुन तन्नेरीहरूबाहेक अरूलाई उपयुक्त नहुँदा धेरैजना सीधा सडकतिर लाग्ने गरेको उनी बताउँछन् ।

    अर्काेतर्फ चालकहरू पनि आकाशेपुल भएपछि पैदलयात्रीहरू त्यतैबाट मात्र जान्छन् भन्ने हिसाबले तीव्र गतिमा सवारी चलाउँछन् । त्यसैले सबैलाई उपयुक्त हुनेगरी जेब्रा क्रसिङ बनाउन थापाको सुझाव छ ।

    यसैबीच हेलिकप्टरबाट उद्धार गरिएका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । काठमाडौंस्थित हृयाम्स अस्पतालमा उपचारको क्रम्मा आँधीखोला गाउँपालिका-५, स्याङ्जा निवासी ५१ वर्षीय शिक्षकको मृत्यु भएको हो ।

    डोल्पाको सरस्वती माध्यामिक विद्यालयमाकामा विगत १२ वर्षदेखि अध्यापन गर्दै आएका ती शिक्षकलाई कोराना संक्रमणबाट गम्भीर भएपछि उपचारका लागि शुक्रबार हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको थियो ।

    डोल्पाको दुनैमा स्वाब संकलन गरी पुस १४ गते कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

    अधिकृत कँडेलका अनुसार सोही दिनदेखि होम आइसोलेसनमा रहेको ती शिक्षक पुस १६ गते टाउको दुख्ने, वान्ता आउने र चक्कर लाग्ने समस्या देखिएपछि डोल्पा जिल्ला अस्पतालमा भर्ना भएका थिए ।

    १७ गते बिहान बेहोश भएपछि उनलाई काठमाडौं लगिएको थियो । उनको शनिबार दिउँसो मृत्यु भएको महाशाखाले आइतबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा उनको मृत्यु भएको महाशाखाले जनाएको छ । यससागै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २७ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

    त्यस्तै रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा बुटवल उपमहानगरपालिका-३ का ६६ वर्षीय पुरुषको आइतबार दिउँसो १२:४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।

    डा खनालका अनुसार ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । शनिबार नै उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै कास्कीको पोखरामा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका-७ की ८२ वर्षीया महिलाको पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा शनिबार राति पाैने ८ बजे मृत्यु भएको हो ।

    उनीमा पुस १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३ पुगेको छ ।

    उता कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको हो ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको कुल सङ्ख्या (२० देशका ) ३१५ पुगेको छ । संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो ।

    समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली संघ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६१ हजार ४३८ छ भने दुई लाख ५३ हजार ८५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया


    आजको ट्रेन्डिङ