• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    फेरि गयो ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु, दर्जनौ घाइते

    3.5K
    SHARES

    एजेन्सी । फेरि शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको पश्चिमी शहर इजमिरलाई केन्द्र बनाएर गएको भूकम्पको धक्काले कैयौं भवनहरु भत्किएका छन् ।

    समाचार संस्था रोयटर्सका अनुसार भूकम्पका कारण अहिलेसम्म ४ जना मानिसको मृत्यु भएको विवरण प्राप्त गरिएको छ । यस्तै, कम्तीमा १ सय २० जना घाइते भएका छन् । भूकम्पका कारण थप मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।

    अमेरिकी जिओलोजिक सर्वेका अनुसार भूकम्पको तीव्रता ७.० रेक्टरस्केल मापन गरिएको छ । भूकम्पले ग्रीस र एथेन्स पनि प्रभावित भएका बीबीसीले उल्लेख गरेको छ ।

    कोरोना विरुद्धको भ्याक्सिन “स्पुतनिक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस

    यसैबीच रसियामा निर्मित कोरोनाभाइरस विरुद्धको खोप “स्पुतनिक- भी” प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो ।

    स्पुतनिक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”

    सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ । स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ ।

    रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताए । बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।

    यस्तै अमेरिकामा एकैदिन १ हजार ९६६ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै सोमबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ४३ हजार १८२ पुगेको छ ।

    यस्तै त्यहाँ १ करोड ९७ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार २९६ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९७ लाख ८१ हजार ६२४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड १६ लाख ९६ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७७ लाख ४१ हजार ७१५ जनामध्ये २८ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    जापानमा भेटियो अर्कै कोरोना भाइरस 

    जापान, स्पेन, फ्रान्स र क्यानडामा केही मानिसहरूमा पहिले भेटिएभन्दा धेरै संक्रमण जोखिम भएका कोरोना भाइरस फेला पारेको छ। यी मध्ये धेरै संक्रमित बेलायत यात्राबाट आएकाहरूसँग सम्बन्धित छन्।

    ब्रिटेनमा हालै मात्र कोरोनाको नयाँ किसिमको संक्रमण पुष्टि भएको छ र सोका कारण लन्डन र दक्षिण इङ्ल्याण्डमा लकडाउन गरिएको छ। नयाँ भाइरस आफ्नो मुलुकमा ब्रिटेनबाट भित्रिएको भन्दै फ्रान्सले बेलायतसँग सीमा जोडिएको इण्लिस च्यानलबाट हुने मानव आवागमनमा रोक लगाएको छ।

    नयाँ किसिमको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै विश्वका थुप्रै मुलुकले ब्रिटेनबाट आउने यात्रीमाथि प्रतिबन्धको घोषणा गरेका छन्। ब्रिटेनमा भएजस्तो संक्रमण निगरानी विश्वका थोरै राष्ट्रमा मात्र भएकाले नयाँ प्रकारको कोरोना भाइरस दुई सातासम्म संसारका अन्य ठाउँमा पहिचान हुनु अगावै पुगिसकेको ठानिएको छ।

    ब्रिटिस वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको यो नयाँ प्रकार संसारले हाल सामना गर्दै आएको भाइरसभन्दा बढी संक्रामक भएको पत्ता लगाएका छन्। यो भाइरस यसअघि भेटिएको भाइरसभन्दा ५६ प्रतिशत संक्रामक भएको अनुमान छ।

    हालसम्म बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरस जापानका सात जनामा पुष्टि भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भेटिएका संक्रमितमध्ये अधिकाशं या त बेलायतबाट फर्किएका वा उनीहरूको सम्पर्कमा आएकाहरू भएको जनाइएको छ।

    नयाँ प्रकारको कोरोना भाइरस पहिचान भएपछि जापानले गैरआवासिय विदेशी नागरिकको जापान प्रवेशमा रोक लगाएको छ। सोमबार मध्यरातबाट लागु हुने यो रोक जनवरीको अन्त्यसम्म कायम हुने जापानको राष्ट्रिय टेलिभिजन एनएचकेले जनाएको छ।

    त्यस्तै स्पेनको राजधानीमा नयाँ कोरोना भाइरस भेटिएको जानकारी त्यहाँका स्थानिय अधिकारीले दिएका छन्। हालसम्म चार जनामा यसको पुष्टि भएको छ भने अन्य तीन जनालाई शंकाको घेरामा राखिएको छ।

    भेटिएका मध्ये कम्तीमा दुई जना हालै बेलायतबाट फर्किएकाहरू हुन् भने अन्य उनीहरूका नातेदारहरू हुन्। फ्रान्समा नयाँ किसिमको संक्रमणका संक्रमित शुक्रबार पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    फ्रान्सका अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति ब्रिटेनमा बस्दै आएका फ्रेन्च नागरिक हुन्। उनी डिसेम्बर १९ मा लन्डनबाट आएका थिए। त्यस्तै क्यानडाको ओन्टारियोका अधिकारीहरूले शनिबार दुई जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

    संक्रमितहरू दम्पति हुन र उनीहरूको कुनै यात्रा विवरण छैन। भाइरस स्वरूप परिवर्तन गर्नु सामान्य हो र हालसम्म परिवर्तित भएका भाइरसहरूमध्ये अधिकांश त्यति खतरनाक छैनन्।

    तर बेलायतमा पुष्टि भएको नयाँ प्रकार भने २३ वटा म्युनटेसन भएको भाइरस हो, जसमा धेरैजसोले नयाँ किसिमले संक्रमण फैलाउने देखाएको छ। खोप विज्ञहरू हाल उपलब्ध खोपहरू यी नयाँ भाइरससँग पनि लड्न सक्षम हुनेमा विश्वस्त छन् यध्यपी यसको परीक्षण पुष्टि हुनु जरूरी छ।

    हाल उपलब्ध खोप नयाँ प्रकारको भाइरससँग लड्न सक्षम भए नभएको जाँच चलिरहेको छ। युरोपियन युनियनका सदस्य राष्ट्रहरूले आइतबारबाट फाइजर-बायोएनटेकले बनाएको खोप लगाउन सुरू गर्दैछन्। हंग्रेरीले शनिबारबाट नै खोप अभियान सुरू गरिसकेको छ।

    यसैगरी अन्य नयाँ प्रकारका भाइरसहरूको पनि पहिचान भएको छ। तीमध्ये एउटा दक्षिण अफ्रिकामा भेटिएको छ भने अर्को नाइजेरियामा भेटिएको छ। नयाँ प्रकार भेटिएसँगै बेलायतले दक्षिण अफ्रिकाबाट हुने बेलायत यात्राम प्रतिबन्ध लगाएको छ। दुई जनामा त्यहाँ भेटिएको भाइरसको संक्रमण पुष्टि भएपनि यात्रामा प्रतिबन्ध लगाइएको हो।

    यसैगरी जर्मनी र सिङ्गापुरमा पनि नयाँ प्रकारको कोरोना भाइरस भेटिएको छ भने डेनमार्कले सो भाइरस आफ्नो मुलुकमा भित्रिए-नभित्रिएकोमा निगरानी गरिरहेको छ। निगरानीका क्रममा त्यहाँ नोभेम्वर १४ देखि डिसेम्बर १४ को अवधिमा ३३ जनामा नयाँ किसिमको संक्रमण पुष्टि भएको डेनिस अधिकारीहरूले जनाएका छन्।

    अमेरिकाले भने हालसम्म नयाँ किसिमको कोरोना भाइरसका संक्रमित भेटिएको पुष्टि गरेको छैन्। उसले बिहीबार बेलायतबाट आउने यात्रुमा ७२ घण्टाको अवधिमा कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र हुनुपर्ने बताएको छ। यो नियम सोमबारबाट लागु हुनेछ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया