• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा स्थायी कमिटी बैठक आज बस्दै, ओलीको दौडधुपले प्रचण्ड-नेपाल समुह शसंकित

    1.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकअघि अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राखेका छन् ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि उनले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

    ओलीले गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गरेपछि उनी शुक्रबार पेरिसडाँडामा भएको प्रचण्ड-नेपाल समुहको भेलामा समेत सहभागी भएनन् । शनिबार खुमलटारमा भएको ओली-प्रचण्ड भेटवार्तामा भने गौतम पुगेका थिए।

    गौतमले बैठकमा प्रस्तावकै रूपमा लगेर आफूलाई जिम्मेवारी दिइए अध्यक्षको भूमिका निर्वाह गर्न सक्ने संकेत दिएको स्रोतको दाबी छ । तर, एमालेको महाधिवेशनदेखि नै पटक-पटक ओलीले धोका दिएकाले के गर्ने भनेर गौतमले अन्तिम निर्णय दिनअघि निकटस्थहरूसँग परामर्श गरिरहेको स्रोतले जनाएको छ ।

    गौतमलाई अध्यक्ष बनाएर जान सके आफू कार्यकारी भूमिकामा नरहे पनि उनीमार्फत आफू अनुकूलको निर्णय गराउन सक्ने ठम्याई ओलीको छ । गौतम आफ्नो साथमा रहे सचिवालयमै आफ्नो बहुमत पुग्ने ठानेका ओलीले स्थायी कमिटी बैठकमा प्रचण्ड-नेपाल समूहको प्रतिवाद गर्दै सचिवालय बैठकमै फर्केर आफ्नो अनुकुलको निर्णय गर्ने तयारीसमेत गरेको स्रोतको दाबी छ ।

    तर प्रचण्ड-नेपाल समूले भने पुस १ को स्थायी कमिटी बैठकअघिको समझदारी कार्यान्वयन नभएको भन्दै ओलीलाई बहुमतबाट निर्णय गर्ने तयारी गरेका छन् । पुस १ को स्थायी कमिटी बैठकअघि संवैधानिक परिषद सम्बन्धी नयाँ अध्यादेश ल्याएर ओलीले पार्टीलाई चुनौती दिएको भन्दै सो समूहले संसदको विशेष अधिवेशन डाक्न राष्ट्रपतिलाई दबाब दिन खोजेको थियो ।

    पुस १ कै स्थायी कमिटी बैठक सुरू नभएपछि ८३ सांसदको हस्ताक्षर लिएर समावेदन दर्ता गराउन नेता भीम रावल र पम्फा भुसाल राष्ट्रपति कार्यालय पुगेपछि ओलीले अध्यादेश फिर्ता लिने र विशेष अधिवेशन पनि नडाक्ने सहमति भएको थियो ।

    तर, ओलीले अध्यादेश फिर्ता लिनको साटो राजनीतिक दौडधुप तीब्र पारेर थप केही निर्णय लिन खोजेको भन्दै प्रचण्ड-नेपाल समूह शसंकित छ । ओलीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारी, गृहमन्त्री रामबहादुर थापालगायतका नेता तथा मन्त्रीहरुसँग पनि भेटवार्ता गरेका थिए ।

    कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेपछि मंसिर १३ को बैठकमा ओलीले जवाफि प्रस्ताव पेस गरेका थिए । दुई पक्षबीचको विवाद दस्तावेजकै रूपमा प्रवेश गरेपछि नेकपाभित्र संकट गहिरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया