• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौँ उपत्यकामा आजबाट लागु भयो यस्तो नयाँ नियम

    14.3K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा साउन २१ देखि लगाइएको जोरबिजोर हटेसँगै सबैखाले सवारीसाधन गुड्न थालेका छन् । जोरबिजोर हटेसँगै सवारीसाधनमा यात्रुको चाप घटेको छ भने उपत्यकाका सडकमा सवारीको चाप बढेको छ ।

    जोरबिजोर लागू हुँदासमेत सवारी साधनको चाप बढेको काठमाडौँ उपत्यकामा फेरि जामको समस्या पूर्ववत अवस्थामै पुगेको छ । कार्यालय समय र छुट्टीको समयमा उपत्यकामा धेरै जाम हुँदै आएको छ ।

    यद्यपि जोरबिजोर लागू हुँदा सीमित सवारीसाधनमा हुँदै आएको यात्रुको चाप घट्ने अपेक्षा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

    अब यात्रु तथा सवारीसाधन सञ्चालकले स्वास्थ्य मापदण्डको पालना गरे नगरेको अनुगमन तीब्र पारिने प्रजिअ पराजुलीले बताए । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य गर्ने सहमति भएको थियो ।

    जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी र मजदूरहरुले जोरबिजोर प्रणालीको अवज्ञा गर्ने चेतावनी दिएसँगै प्रशासन आफ्नो पूर्ववत निर्णयबाट पछि हटेको थियो ।

    बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो ।

    बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नेछन् । यो मापदण्ड पूरा गर्न व्यवसायीहरू तयार रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

    १० महिनापछि मस्जिद पनि खुले

    कोरोना कारण चैत पहिलो सातादेखि बन्द भएका मस्जिद तथा मदरसाहरु खुला भएका छन् । केही दिन अघि सरकारले धार्मिक स्थलहरुलाई खुला गर्ने निर्णय गरेपछि दुई दिनअघिदेखि काठमाडौंसहित देशभरका मस्जिदहरुमा नमाज (प्रार्थना) हुन थालेको छ ।

    ९ महिनापछि शुक्रबार इस्लाम धर्मवालम्बीहरुले हरेक शुक्रबार सामूहिक रुपमा पढिने जुम्मा नमाज पढेका छन् । हरेक दिन ५ पटक पढिने नमाजसमेत खुला भएको छ । मस्जिदहरुमा सामाजिक दूरी र मास्क प्रयोग गर्दै नमाज पढ्न सुरु भएको छ ।

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले काठमाडौंको हकमा नियमित रुपमा ५ पटक पढिने नमाज खुला गरिएपनि धेरै भीड हुने शुक्रबारका दिन पढिने जुम्माको नमाज आ-आफ्नो मस्जिद कमिटीले निर्णय गरी पढ्न आग्रह गरिएको बताए । उनका अनुसार नमाज पढिसकेपछि मस्जिदमा भीड नगर्नका लागि समेत सबैलाई आग्रह गरिएको छ ।

    कोरोना भ्याक्सिनको प्रतीक्षामा रहेका नेपालीहरुका लागि दुखद खबर

    नेपाललगायत एसियाली मुलुकले कोरोनाविरुद्धको खोपको प्रतीक्षा गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निराश पार्ने गरी खबर दिएको छ । संगठनले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक वर्षसम्म कुर्नुपर्ने जनाएको हो ।

    खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेको जनाउँदै बिहीबार संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताएको हो ।

    डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेसी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँग कुराकानी गर्दै यस क्षेत्रमा खोप आउन ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएका हुन् ।

    यसैबीच अमेरिका, बेलायत, बहराइन, यूएई, क्यानाडालगायतका मुलुकमा कोभिड–१९ विरुद्ध प्रयोग गरिएको फाइजर–बायोएनटेक कम्पनीको खोप कोल्ड चेन र ढुवानी संरचनाको पूर्वाधार नबनाएसम्म नेपालमा व्यापक प्रयोगमा ल्याउन असम्भवजस्तै देखिएको छ ।

    सरकारी अधिकारीहरू कोभाक्स सुविधाअन्तर्गत ल्याइने र आफैं खरिद गरिने खोपका लागि पूर्वाधार बनाउने गृहकार्यमा लागेका छन् । तर उनीहरूले मुलुकको खोपको भण्डारण, ढुवानीलगायतका प्राविधिक क्षमता र आर्थिक स्थितिलाई ध्यान दिएर २ देखि ८ डिग्री सेल्सियस वा माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने अक्सफोर्ड र मोडर्नाको खोप ल्याउन बढी चासो दिएका छन् ।

    ‘हाल फाइजर, अस्ट्राजेनिका, मोडर्नामध्ये फाइजरको खोपले आकस्मिक प्रयोग मान्यता पाए पनि यो खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भएकाले हाम्रा लागि गाह्रो छ’, राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा.रमेशकान्त अधिकारीले भने ।

    अमेरिकी कम्पनी फाइजर र जर्मनी कम्पनी बायोएनटेकले संयुक्त रूपमा विकास गरेको कोभिड खोप ‘बीएनटी १६२ बी२’ तेस्रो चरणको परीक्षणमा ९५ प्रतिशत प्रभावकारी देखिएको छ । बेलायतले यो खोपलाई २ डिसेम्बरमा र अमेरिकाले ११ डिसेम्बरमा इमर्जेन्सी प्रयोगका लागि अनुमति दिएका छन् । क्यानाडा र बहराइनले समेत अनुमति दिएका छन् ।

    फाइजरले भारतमा समेत आकस्मिक प्रयोगका लागि अनुमति मागेको छ । बेलायतमा भने फाइजरको खोपले केही व्यक्तिमा एलर्जीको समस्या देखिएको छ । डा. अधिकारीका अनुसार २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियस वा धेरै अप्ठ्यारो भए माइनस २० डिग्री सेल्सियससम्ममा भण्डारण गर्न सकिने खोप नेपालका लागि उपयुक्त मानिएको छ ।

    मुलुकमा बालबालिकाको खोपका लागि पहिलेदेखि नै २ देखि ८ डिग्री सेल्सियस र माइनस २० डिग्री सेल्सियसमा भण्डारण र ढुवानी गर्ने संरचना छ । त्यो संरचना फाइजर खोपका लागि भने काम लाग्दैन । खोपका लागि कोल्ड चेनको अत्याधुनिक पूर्वाधार नहुनु सरकारका लागि टाउको दुखाइ भएको छ ।

    सरकारको खोपको द्रुत कार्य योजनाअन्तर्गत पूर्वाधार ‘एसेसमेन्ट’ गर्ने समूहका एक पदाधिकारीले भने, ‘सरकारी क्षेत्रमा कोल्ड चेनअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस र माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्ने क्षमता कति छ भनेर खोजबिन गर्दा स्थिति धेरै अप्ठ्यारो पायौं ।’ कोभाक्स सुविधाअन्तर्गत पहिले ३ प्रतिशत र त्यसपछि १७ प्रतिशत जनसंख्याका लागि आउने भनिएको खोप अहिले रहेको कोल्ड चेन संरचनाअन्तर्गत भण्डारण गर्न सहज नहुने उनको भनाइ छ ।

    ‘हामीकहाँ भएको र आवश्यक पर्न सक्ने कोल्ड चेनमा धेरै अन्तर छ । भएकै कोल्ड चेनको पूर्वाधारलाई अद्यावधिक गर्न आवश्यक छ,’ उनले भने । उनले माइनस ७० डिग्री सेल्सियसको तापक्रम चाहिने खोपका लागि कोल्ड चेनको नयाँ ‘सेटअप’ चाहिने बताए । ‘त्यसका लागि हामीले शून्यबाटै संरचना बनाउनुपर्छ ।’

    यहाँ ‘सुपर कोल्ड स्टोरेज’ आवश्यक भएका खोपलाई भण्डारण र ढुवानीमा समस्या आउन सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा.जीडी ठाकुरले बताए । कोभाक्सले समेत गरिब मुलुकको कोल्ड चेनको अवस्था हेरेरै उपयुक्त हुन सक्ने खोप दिनेछ । ‘आफैं किन्ने भनेको खोपसमेत मुलुकको कोल्ड चेनको संरचनाअनुकूल हुनुपर्छ,’ डा. ठाकुरले भने ।

    राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. अधिकारीले नेपालका लागि सबभन्दा सजिलो अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप हुने बताए । उक्त खोप भारतको सिरम इन्स्टिच्युटले पनि उत्पादन गरिरहेको छ जसको मूल्य पनि कम हुने देखिएको छ । अक्सफोर्डको खोपको भण्डारण तापक्रम मुलुकमा भएको संरचनासँग मिल्दो अर्थात् २ देखि ८ डिग्री सेल्सियस छ ।

    मोडर्ना खोपलाई समेत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ३० दिनसम्म भण्डारण गर्न सकिन्छ । यो भन्दा बढी समयका लागि भण्डारण गर्नुपर्दा माइनस ४ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ । डा. अधिकारीले यहाँ उपयुक्त हुने खोपलाई विभिन्न प्रक्रियाबाट ल्याउने तयारी सरकारको प्राविधिक समितिले गरिरहेको जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया