काठमाडौँ । विश्वमा एकैदिन १२ हजार ५३१ संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५ लाख ८० हजार ९९२ संक्रमित थपिएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ३७ लाख ८४ हजार ४७४ पुगेको छ ।
संक्रमित १६ लाख ४० हजार ५२६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये २ करोड ३ लाख ५७ हजार १८ जनामा सक्रिय संक्रमण छ भने ५ करोड १७ लाख ८६ हजार ९३० जनाले कोरोनालाई जितेका छन् ।
संस्थागत तथा होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये १ लाख १७ हजार १७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ७१ लाख ४० हजार ८८० पुगेको छ भने ३ लाख ११ हजार २४ जनाले ज्यान गुमाएका छन् ।
यसैबीच अमेरिकामा कोरोनाविरूद्धको पहिलो खोप नर्सलाई लगाएर खोप अभियान थालिएको छ । न्यूयोर्कस्थित लङ्ग आइल्यान्ड जिविस मेडिकल सेन्टरको सघन उपचार कक्षमा कार्यरत एक नर्सलाई खोप लगाएर खोप अभियान सुरु गरिएको हो । सान्ड्रा लिन्ड्से, अमेरिकामा खोप लगाउने पहिलो व्यक्ति भएकी छन् ।
उनलाई खोप लगाइएको दृश्य न्यूयोर्कका गभर्नर एन्ड्र्यु कोमोको ट्वीटरमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । फाइजर–बायोएनटेकको झन्डै तीस लाख खोप अमेरिकाभर वितरण गर्न लागिएको छ । त्यहाँका झन्डै एक सय ५० वटा अस्पतालहरूले सोमबारसम्ममा खोप पाइसकेका छन् ।
आउँदो अप्रिलसम्म अमेरिकामा १० करोड मानिसलाई खोप दिइने अपेक्षा गरिएको छ । फाइजर–बायोएनटेक खोपले गत शुक्रबार अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट आकस्मिक प्रयोगका लागि स्वीकृति दिएको थियो ।
प्रतिक्रिया