• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    नारायणकाजीसँगको सम्बन्धबारे कमानसिंह पत्नीले मुख खोलिन, मृत श्रीमानलाई नै लगाइन यस्तो गम्भीर आरोप

    1.4K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठसँगको सम्बन्धबारे पूर्व राजदूत कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले मुख खोलेकी छन् । उनले नारायणकाजीसँग आफ्नो सम्बन्धबारे स्पस्ट पार्दै मृत पतिमाथि नै गम्भीर तथा संगिन आरोप लगाएकी छन् ।

    नेकपा प्रबक्ता श्रेष्ठसँग आफ्नो नाम जोडिएपछि एक बिज्ञप्ति जारी गर्दै इन्द्रमायाले श्रीमान् कमान सिंह लामाकोले पैसाको लागि विभिन्न बहानामा आफुमाथि कुटपिट गर्ने गरेको बताएकी छिन् । उनले आफूलाई तनाव दिने, कुट्ने पिट्ने र मानसिक यातना दिने गरेको बताएकी हुन् ।

    कमानसिंहले मृत्युपूर्व सामाजिक सञ्जालमा आफूविरुद्ध विवादास्पद विषय लेखेपछि मिडियामा आएका कतिपय खबरप्रति प्रश्न उठाउँदै इन्द्रमायाले लेखेकी छिन्, ‘मेरो श्रीमानले पटक पटक मलाई पैसाको लागि विभिन्न बहाना बनाई तनाव दिने, उहाँले भनेजति रकम नदिए कुट्ने, पिट्ने र मानसिक यातना दिनेदेखि विभिन्न लान्छना लगाउने काम समेत गर्नुभयो ।’ उनले आफूलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडेर अर्नगल प्रचार गरिएको भन्दै उनलाई राजनीतिक अभिभावक भनेकी छिन् ।

    इन्द्रमाया भन्छिन्, ‘सुसनले बैंकको दुई करोड ऋण तिरिदिइसक्नुभयो, अहिले हाम्रो जग्गाजमीन उक्सिइसकेको छ । ऋणमा डुबेका हामीलाई उहाँले उद्धार गर्नुभयो ।’ यो आर्थिक कारोबारमा नेकपा नेता नारायणकाजी श्रेष्ठको कुनै संलग्नता नरहेको इन्द्रमाया बताउँछिन् ।

    उनी भन्छिन्, ‘पार्टीमा सँगै काम गरेको नाताले मैले हाम्रो परिवार ऋणमा डुब्न लाग्यो, हामी सकिन लाग्यौं भनेर उहाँलाई पटक-पटक आग्रह गर्दा पनि उहाँले यस्तो कुरा मलाई नभन, भन्नुभएको थियो । पछि हामीलाई झगडा नगरी मिलेर काम गर भन्नुभएको थियो । यो लेनदेनमा उहाँको कुनै संलग्नता छैन ।

    कमानसिंह र सुसनको लेनदेन : यस्तो छ भित्री कथा

    अडियो-भिडियोमा कमानसिंह र नारायणकाजीवीच भएको सम्वादको विषय के थियो भन्ने थाहा पाउन सुसन कर्माचार्य र कमानसिंह लामावीचको आर्थिक लेनदेनको विषय के हो भनेर खोतल्नुपर्ने हुन्छ । काभ्रे जिल्लाको मादनकुडारीमा जन्मेका कमानसिंह लामा निर्मल लामाकै पालादेखि कम्युनिष्ट पार्टीमा लागेका हुन् । माओवादी हुँदै नेकपामा समाहित हुनुभन्दा पहिले पनि उनी नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीमा थिए । माओवादी केन्द्रमा हुँदा पनि उनी नारायणकाजी गुटकै नेता हुन् । कमानसिंहकी श्रीमती इन्द्रमाया तामाङ पनि जनमोर्चाकै केन्द्रीय नेतृ हुन् ।

    जापानमा पढेर फर्केकी सुसन कर्माचार्य नेकपाका संस्थापक नेता स्व. नरबहादुर कर्माचार्यकी भतिजी एवं पूर्वनेकपा एकताकेन्द्रकै कार्यकर्ता हुन् । सुसनले अमिक शेरचन स्वास्थ्यमन्त्री भएका बेला उनको स्वकीय सचिवको समेत काम गरेकी छिन् । व्यवस्थापनमा राम्रो क्षमता राख्ने सुसन पछिल्लो समय हाइड्रो र हाउजिङ कम्पनीमा लागेकी छिन् । नेकपा नेता कमानसिंह लामाले आफ्नै अध्यक्षता आर्थिक वर्ष ०६४/०६५ मा याम्बालिङ हाइड्रो प्रालि नामक कम्पनी खोले । उनले सिन्धुपाल्चोकमा ७ मेगावाट बिजुली निकाल्ने प्रजेक्टको लाइसेन्स समेत लिए ।

    लामाको कम्पनीले याल्बालिङ खोलाबाट बिजुली निकाल्नका लागि विद्युत विकास विभागबाट ०७३ पुस ६ गते विद्युत उत्पादन अनुमति पत्र पायो । त्यसअघि ०७२ पुस २९ गते नै विद्युत प्राधिकरण र लामाको कम्पनीवीच विद्युत खरीद सम्झौतासमेत भइसकेको थियो । तर, कानूनले तोकेको समयमा कमानसिंह लामाको कम्पनीले विद्युत उत्पादन प्रक्रिया अगाडि बढाउन सकेन र लामा परिवार ऋणमा डुब्यो । सरकारले लाइसेन्स रद्द गर्ने अवस्था आइलाग्यो ।

    यसबारे व्याख्या गर्दै कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङ भन्छिन्- ‘सो हाइड्रो सञ्चालनका लागि १० वर्षदेखि हाम्रो चलअचल सम्पति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न गर्‍यौं । तर, न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं ।’

    यसरी ऋणमा डुबेपछि पति कमानसिंह र आफूले सुसन कर्माचार्यसँग हारगुहार गरेको इन्द्रमाया बताउँछिन् । उनी अगाडि भन्छिन्,’त्यहीबेला नेपाल विद्युत प्राधिकरणले हाम्रो अनुमतिपत्र खारेज गर्ने प्रक्रिया थालेपछि पार्टीका साथी र हाइड्रोको समेत अनुभव प्राप्त गर्नुभएको नाताले सुसन कर्माचार्य र अन्य साथीहरुलाई हामीले तपाईहरु पनि संलग्न भएर संस्था (कम्पनी) बचाइदिनोस् भनेर पटक-पटक अनुरोध गर्‍यौं । सोहीबमोजिम हामी दुबैजना (कमानसिंह लामा र इन्द्रमाया तामाङ) को सहमतिमा हाम्रो केही सेयर रहने गरी सबै कानूनी प्रक्रिया पुर्‍याएर हस्तान्तरण गर्‍यौं ।’

    अन्ततः २०७५ साल फागुन २४ गते शुक्रबार कमानसिंह लामाको ऋणमा डुबेको कम्पनी (याल्बालिङ हाइड्रो) सुसन कर्माचार्य अध्यक्ष रहेको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिले लियो । कम्पनी रजिष्टारको कार्यालयमा रहेको ०७५ साउन ७ मा प्रमाणित श्रेस्ता अनुसार प्रतिसेयर १०० का दरका निम्नअनुसारका सेयरहरु कित्ताहरु दोस्रो पक्षमा नामसारी गर्ने लामाले करारानामा गरिदिए ।

    करारनामा अनुसार शेयरधनीको नाम र शेयर कित्ताको विवरण यसप्रकार थियो-

    प्रविना लामा ४०,०००, इन्द्रमाया तामाङ- ५,०५,९१९, भवेन्द्रकुमार मुक्तान ५०,०००, दाबा दोर्जे तामाङ १८०००, सानुकान्छा तामाङ १८०००, आशलाल तामाङ १८०००, कमानसिंह लामा ६०,२२०, जगतमान लामा ३६,००० र सुश्री लामा १८००० ।

    यी कुल थान सेयरको लागत रकम ७ करोड ६४ लाख, १६ हजार ९०० रुपैयाँ प्रमाणित भएको थियो । यसमध्ये इन्द्रमायाको शेयरकित्ता मध्येबाट २ करोड ५० लाख रकम बराबरको २ लाख ५० कित्ता शेयरको सुसनको कम्पनीका नाममा नामसारी गरिदिने अध्यक्ष कमानसिंह लामाले ०७५ फागुन २४ मा लिखित सहमति दिएका थिए । सुसन र कमानसिंहले हस्ताक्षर गरेको यो करारनामामा इन्द्रमायाले साक्षीका रुपमा हस्ताक्षर गरेकी थिइन् ।

    हाइड्रो कम्पनीको मुख्य सेयर सुसनलाई २ करोड ५० लाखमा बेचिसकेपछि कमानसिंह र इन्द्रमायासहित पुराना सबै शेयरधनीहरुको शेयर ३० प्रतिशत कायम रहेको देखिन्छ भने ७० प्रतिशत सुसनको कम्पनीले लिएर हाइड्रो प्रोजेक्टलाई अगाडि बढाउन खोजेको करारनामामा देखिन्छ ।

    ०७५ फागुन २१ सम्मको अडिट वित्तीय विवरण अनुसार कम्पनीको इक्विटी र दायित्व ८ करोड ८५ लाख ३० हजार ३२५ देखिएको थियो । कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख १३ हजार ९०० देखिएको थियो । फागुन २४ देखि कम्पनीको नाफा घाटा, ऋण धन सबैको जिम्मा सुसनको कम्पनी (मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालि) ले लिन मञ्जुरी गरेको थियो । सञ्चालक समितिको पुनर्गठन गर्न र सुसनलाई अध्यक्षको जिम्मेवारी दिन कमानसिंहले सहमति जनाएका थिए । समितिमा पुरानो टीमका शेयरधनीहरुको प्रतिनिधित्व इन्द्रमायाले गर्ने कामनसिंहले कागज गरिदिएको देखिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ