• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अरुण तेस्रोका मजदुर आन्दोलित, आयोजनाको काम ठप्प

    746
    SHARES

    काठमाडाैं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्प भएको छ । बाँधस्थल मकालु गाउँपालिकालु-५ फ्याक्सिन्दाका मजदुर ज्याला बढाउन माग गर्दै दिनभर आन्दोलित भएका छन् ।

    सोमबार बिहानैदेखि मजदुर आन्दोलित हुँदा अरुण तेस्रोको बाँधस्थल फ्याक्सिन्दा दोभानमा काम अवरुद्ध भएको हो । अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका बाँधस्थलको काम भारतीय निर्माण कम्पनी जेपी एशोसियटर्स कन्स्ट्रक्सनले गरिरहेको छ ।

    बाँधस्थलका मजदुरले भौतिक पूर्वाधार कार्यालय सङ्खुवासभाले निर्धारण गरेको दररेटअनुसारको ज्याला नदिएको, आठ घण्टाभन्दा बढी काम लगाएको, समयमा तलब भुक्तानी नगरेको भन्दै कार्यालय घेराउ गरेका छन् ।

    निर्माण कम्पनीले लामो समयदेखि मजदुरको ज्याला नबढाएको, स्थानीय श्रमिक तथा मजदुरलाई काम नदिएकोलगायतका विषयमा ठेकेदार निर्माण कम्पनीसँग असन्तुष्टि जनाउँदै पटक-पटक काम अवरुद्ध गर्दै आएका छन् । अरुण तेस्रोका मजदुरले यसअघि पनि ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो ।

    वर्ष दिन बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेको भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुर विशाल चौहानले बताए ।

    अरुण तेस्रोको बाँधस्थलमा कार्यरत मजदुरले ज्याला बढाउनुपर्ने माग गरेको भए पनि काम भने अवरुद्ध नभएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

    बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको छ । अरुण तेस्रो परियोजनाको गत कात्तिक २६ गते प्रधानमन्त्री केपी ओलीले समेत स्थलगत अनुगमन गर्दै काम सन्तोषजनक रहेको बताएका छन् । अरुण तेस्रो परियोजनामा कूल एक खर्ब ४४ अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

    सत्तरी प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको हो । मकालु-५ फ्याक्सिन्दा दोभानबाट ११ किलोमिटर सुरुङ खनेर चिचिला गाउँपालिका-२ को पुखुवामा विद्युत् गृहस्थल रहने छ । विद्युत्गृह पुखुवामा भारतीय पटेल इञ्जिनीरिङ कम्पनीले काम गरिरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ