• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १५९४ पुग्यो

    0.9K
    SHARES

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ का संक्रमित नेपालमा घटिरहँदा नेपालीहरुका लागि अर्को दुखद खबर आएको छ । नेपालमा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ३६८ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५५ जना भेन्टिलेटरमा र ३ सय १३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

    आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२५रहेको छ भने र ३१ जना भेन्टिलेटरमा छन् । यसैगरी लुम्बिनी प्रदेशमा ६४ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ९ आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै सुदुरपश्चिममा ७ आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आईसीयूमा र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १० आईसीयूमा उपचाररत रहेका छन्।

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना मा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ।

    हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्। आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

    कोरोना भाइरस नेपाल: कोभिड-१९ बाट मृत्यु हुने मानिसको बढ्दो सङ्ख्याबारे चिकित्सकहरू के भन्छन्

    नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि मृत्यु हुने सङ्क्रमतिको सङ्ख्यामा देखिएको वृद्धिले सङ्क्रमण फैलिने क्रम आधिकारिक रूपमा गरिएको आकलनभन्दा बढी हुनसक्ने विज्ञहरूले ‌औँल्याएका छन्।

    नेपालको पछिल्लो अवस्थाबारे तथ्याङ्क हेर्दा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै अस्पतालहरू समेत खचाखच हुँदाको अवस्थाभन्दा हाल मृत्यु हुनेहरूको अनुपात बढिरहेको देखिन्छ। अधिकांश मानिसमा लक्षण देखिँदा घरमै आइसोलेशनमा बस्ने र सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने हुँदा पनि मृत्यु धेरै भएको हुन सक्ने जानकारहरू बताउँछन्।

    “सङ्क्रमित भइसकेकाहरू परीक्षण नगरीकनै घर बस्ने र निश्चित अवधि पछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने हुँदा समग्रमा सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको हुन सक्छ,” सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसीसँग भने। त्यस्तै विदेश जानका लागि कुनै पनि किसिमका लक्षण नभएकाहरूले परीक्षण गर्ने गरेको र त्यसकै आधारमा सङ्ख्या घटे जस्तो देखिएको हुन सक्ने उनी बताउँछन्।

    सरकारले कनट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण समेत गर्न छाडेको अवस्थामा नयाँ सङ्क्रमितहरूको सङ्ख्याका तुलनामा मृत्यु हुनेहरूको सङ्ख्या बढेका रूपमा व्याख्या गर्न नमिल्ने चिकित्सकहरू बताउँछन्।

    अझ अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै वा अस्पतालमा मृत्यु भएकाहरूको समेत कोभिड परीक्षण नगर्ने सरकारी निर्देशनका कारण हाल उपलब्ध तथ्याङ्कमा भर परिहाल्न मिल्ने अवस्था समेत नरहेको जानकारहरूको मत छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पछिल्ला केही महिनाका तुलनामा हाल कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको उनी कार्यरत अस्पतालमा देखिएको बताउँछन्।

    “मूलतः ६० वर्ष भन्दा बढी उमेर भएकाहरूको मृत्यु हुने क्रम बढेको मेरो बुझाइ छ,” उनले भने। पाको उमेरका मानिसमा तुलनात्मक रूपमा कम सङ्क्रमण भएको देखिएको भए पनि उनीहरूले ज्यान गुमाउन सक्ने सम्भावना भने बढी हुने चिकित्सकहरू बताउँछन्।

    केही समयअघि सङ्घीय राजधानी काठमाण्डूका अस्पताल कोरोनाभाइरस सङ्क्रमितहरूबाट भरिएको अवस्थामा सरकारले सर्वसाधारणहरूलाई सकेसम्म अस्पताल नजान अनुरोध गरेको थियो। तर हाल अस्पतालहरूमा चाप घटेको र त्यो पनि बढ्दो मृत्युदरसँग सम्बन्धित रहेको चिकित्सकहरू बताउँछन्।

    “अक्सिजन थोरै घट्दा अस्पताल आइपुग्ने अधिकांश मानिसहरूलाई हामी बचाउन सफल भएका छौँ,” डा. सुवेदीले भने। डा. पुन पनि त्यो कुरा स्वीकार्छन् र अवस्था जटिल भएपछि अस्पताल आउँदा ज्यान जाने सम्भावना बढी हुने बताउँछन्।

    “भेन्टिलेटरमै राख्नुपर्ने अवस्थामा जे पनि हुन सक्छ। त्यो कुनै जादुको छडी होइन,” उनले थपे। “एघार दिनसम्म ज्वरो आउँदा समेत घरमै बसेको अनि लगातार दुई तिन दिनसम्म श्वासप्रश्वासमा समस्या हुँदा समेत घरमै बसेका बिरामी मैले भेटेको छु।”

    धेरै मानिसमा घरमै बस्दा आफ्नो अवस्था कस्तो रहँदा के गर्ने भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा समस्या बढ्दै गएको उनी बताउँछन्। नेपालमा हाल जाडो मौसम चलिरहेको अवस्थामा प्रतिबन्ध लगाइएका विभिन्न क्षेत्रहरू क्रमिक रूपमा खुला हुँदै गर्दा आगामी दिनहरूमा सङ्क्रमित थपिने वा सङ्क्रमितहरूको अवस्था गम्भीर हुन सक्ने सम्भावना रहेको चिकित्सकहरू औँल्याउँछन्।

    कोभिड खोपः भ्रम निवारण गर्ने प्रयास – माइक्रोचिप्स, डीएनए परिवर्तन र अन्य मिथ्या दाबी

    हामीले कोरोनाभाइरसविरुद्धका खोपबारे निकै धेरै शेअर गरिएका केही मिथ्या दाबीको परीक्षण गरेका छौँ। तिनमा खोपको नाममा आनुवंशिक कोड परिवर्तन गर्न लागिएको कुरादेखि मानिसहरूमा माइक्रोचिप्स हाल्न लागिएको दाबीसम्म छन्।

    ‘डीएनए परिवर्तन’का दाबी
    सामाजिक सञ्जालमा बारम्बार देखिने एउटा झुट चाहिँ खोपले कुनै न कुनै रूपमा तपाईँको डीएनए परिवर्तन गरिदिन्छ भन्ने छ। बीबीसीले तीनजना स्वतन्त्र वैज्ञानिकहरूलाई यसबारे सोधेको छ। उनीहरूले कोरोनाभाइरस खोपले मानव डीएनए परिवर्तन नगर्ने बताए।

    अहिले विकास गरिएका केही नयाँ खोपमा – हालै यूकेले स्वीकृति दिएको फाइजर/बायोएनटेकको खोपसहित – भाइरसको आनुवंशिक कण वा मेसिन्जर आरएनए प्रयोग गरिएको हुन्छ। “मानिसको शरीरमा आरएनए पठाउँदा त्यसले मानव डीएनएमा केही असर गर्दैन,” अक्सफर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्रे आल्मन्डले बताए।

    यसले शरीरलाई कोरोनाभाइरसको सतहमा हुने जस्तै प्रोटीन बनाउन लगाउँछ। त्यसपछि मानिसको प्रतिरोध प्रणालीले त्यस्ता प्रोटीनलाई चिन्छ र तिनलाई नाश गर्ने एन्टिबडी बनाउँछ।  कोरोनाभाइरस खोपले डीएनए परिवर्तन गर्छ भन्ने दाबीबारे हामीले गत मे महिनामै छानबिन गरेका थियौँ।

    त्यतिखेर एउटा भिडिओमा त्यस्तो दाबी गरिएको थियो। एमआरएनए प्रविधिको खोप पहिले कहिल्यै परीक्षण वा स्वीकृत नगरिएका चर्चा चलेका छन्। यो साँचो हो कि एमआरएनए खोप यसअघि स्वीकृत भएको थिएन।

    तर यो विधिबारेका अनुसन्धान गत केही वर्षदेखि नै हुनथालेका थिए। अनि महामारी भएपछि त यसको परीक्षण हजारौँ मानिसमा गरिसकिएको छ। सबै नयाँ खोपजस्तै कोभिडका खोपहरू पनि विभिन्न चरणमा परीक्षण गरिएको छ।

    पहिलो र दोस्रो चरणमा थोरै सङ्ख्याका मानिसमा यो कत्तिको सुरक्षित छ अनि कति मात्रा उपयुक्त हुन्छ भनेर परीक्षण गरिन्छ। तेस्रो चरणमा हजारौँ मानिसमा यसको प्रभावकारिता जाँचिन्छ । अर्को हल्ला वा षड्यन्त्रको दाबी संसारभरि फैलिएको छ।

    यो हल्लाले के भन्छ भने कोरोनाभाइरस महामारी एउटा गोप्य योजना हो जसको नाममा मानिसहरूलाई निगरानीमा राख्न सकिने माइक्रोचिप जडान गर्न खोजिँदैछ। यो सबै योजनाका पछाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स रहेको दाबी गरिएको छ।

    तर यथार्थ के हो भने कुनै खोपमा ‘माइक्रोचिप’ छैन र बिल गेट्सले यस्तो योजना बनाइरहेको कुनै प्रमाण छैन। बिल तथा मेलिन्डा गेट्स फाउन्डेशनले बीबीसीलाई यो हल्ला एकदमै असत्य भएको प्रतिक्रिया दिएको छ।

    महामारीका बेला अर्बपति बिल गेट्सलाई जोडेर धेरै हल्ला फिँजिए। उनले जनस्वास्थ्य तथा खोप विकासमा गरिरहेको परोपकारका कारण पनि उनी निसानामा परेका छन्। खोपहरूमा गर्भपात गरिएको शिशुको भ्रूणको फोक्सोको तन्तु प्रयोग भएका हुन्छन् भन्ने हल्लाहरू पनि चलेका छन्। ती असत्य हुन्।

    “कुनै पनि खोप विकासको कार्यमा भ्रूणका कोष प्रयोग हुँदैनन्,” साउद्‌याम्पटन यूनिभर्सिटीका डा. माइकल हेडले बताए। अक्सफर्ड र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपबारे खोपविरोधी फेसबुक पेजमा भिडिओ राखिएर त्यस्तो दाबी गरिएको थियो।

    यसबारे अन्योल उत्पन्न हुनुको एउटा कारण चाहिँ सम्भवतः प्रयोगशालामा खोप निर्माण गर्दा त्यहीँ विकास गरिएका कोषको प्रयोग हुनु हो। तर यो अनुसन्धानमा कुनै भ्रूणको प्रयोग भएका छैन।

    त्यसमाथि खोप लगाउने बेलामा त्यस्ता कोषको कुनै अंश बाँकी भएको हुँदैन। अनि यी कोष पनि गर्भपात गरिएका शिशुका हुँदै हुँदैनन्। यदि कोरोनाभाइरसबाट ज्यान जाने सम्भावना यति थोरै छ भने किन यसविरुद्ध खोप लगाउनुपर्‍यो भन्ने प्रश्न हामी सामाजिक सञ्जालमा बारम्बार देख्छौँ।

    खोपका विरोधीहरूले शेअर गरेको एउटा मीममा कोरोनाभाइरस सङ्क्रमितमध्ये ९९.९७% निको हुन्छन् भने खोप लगाउनुभन्दा सङ्क्रमित हुनु नै सुरक्षित विकल्प हो भन्ने सन्देश दिइएको छ।

    सुरुमा उक्त मीमले ‘निको हुने दर’ भनेर राखेको अङ्क अर्थात् जो सङ्क्रमित भईकन पनि बाँचे त्यो सही छैन। अक्सफर्ड विश्वविद्यालयका वरिष्ठ तथ्याङ्कविद् जेसन ओक भन्छन्ः कोभिड लागेकामध्ये ९९% मानिस बाँच्छन्।

    त्यसैले १०,००० मध्ये १०० जनाको ज्यान जान्छ – त्यो मीममा भनिएको १०,००० मध्ये ३ जनाभन्दा यो निकै धेरै हो। ओक भन्छन्, “यसको जोखिम उमेरमा भर पर्छ। अनि यसले छोटो वा दीर्घकालमा पार्ने असर पनि छ।”

    केवल बाँच्नुसँग यो सम्बन्धित छैन। कैयौँ मानिसहरूलाई सघन उपचारको खाँचो पर्छ अनि कैयौँ मानिस यसको दीर्घकालीन असर बेहोर्न बाध्य हुन्छन्। यसले स्वास्थ्य सेवा प्रणाली कोभिडकै बिरामीहरूको चापमा पर्नेछ।

    लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक लियाम स्मिथ खोप लगाउने कार्यलाई अरू मानिसको जीवनरक्षा गर्ने कार्य सरह समाजले लिनुपर्ने सुझाव दिन्छन्।

    “यूकेमा महामारीको सबभन्दा खराब असर, जसका कारण लकडाउन पनि गरियो, भनेको यसले स्वास्थसेवा अकस्मात् बेहोर्न नसक्ने चापमा पर्ने अवस्था हो। अनि धेरै उमेरका अनि सहारा केन्द्रहरूमा बसिरहेका बिरामी मानिसहरू धेरै जोखिममा छन्। भाइरसले उनीहरूलाई गम्भीर बिरामी बनाइदिने सम्भावना पनि धेरै छ।”

    (क्रिस ब्राम्वेल, ओल्गा रबिन्सन तथा मारियाना स्प्रिङको थप रिपोर्टिङसहित)

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ