• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालसंगको सम्बन्धबारे भारतीय विदेशमन्त्री जयशंकरले गरे यस्तो खुलासा, काठमाडाैंदेखि नयाँदिल्लीसम्म खैलाबैला

    3K
    SHARES

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको खुलासा गरेका छन् । उनले नेपालसँगको भारतको समस्या विश्वका जुनसुकै दुई छिमेकी मुलुकबीच हुनेजस्तो समस्या रहेको बताएका हुन् ।

    भारतीय पत्रिका ‘द हिन्दू’सँगको अन्तर्वार्ताको क्रममा जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको दाबी गरे । जयशंकरको भारतीय विदेश नीति समेटिएको किताबमा उनले ‘उदारता र दृढता’को नीति आफ्ना छिमेकी मुलुकसँग राख्ने उल्लेख गरेका छन् ।

    तर, नेपालको संविधानमा नै नेपाल र भारतबीच विभाजन देखिएको छ । यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् । तर, नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी जयशंकरलाई प्रश्न गरिएको थियो ।

    यसको जवाफमा उनले कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए । उनले भने, ‘समस्या हुन्छन् । मेरो मतलब, मलाई कुनै यस्ता दुई छिमेकी मुलुक देखाउनुहोस्, उनीहरुको बीचमा कुनै समस्या नै नभएको होस् ।’

    उनले थपे, ‘अहिले हाम्रा अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक छन्, मुख्य कुरा उनीहरुसँग उनीहरुसँग उनीहरुको राजनीति छ र हामीसँग हाम्रो राजनीति छ, मुद्दाहरु त्यहीँ हुन्छन् ।’ यस्ता मुद्दाहरु कसरी समाधान गर्ने र तनाव कसरी कम गर्दै जाने भन्ने मुख्य विषय रहेको उनको भनाइ छ । उनको यो बयानले काठमाडाैंदेखि नयाँदिल्लीसम्म खैलाबैला मच्चिएको छ ।

    नेपालले के भन्याे ?

    सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल-भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताए । उनले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए ।

    ‘नेपाल-भारतबीच नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको छ,’ उनले भने, ‘सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन् । नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको छ ।’

    भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीको भनाइ थियो । नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको र त्यसबारे पनि आगामी दिनमा छलफल हुने कुरा भएको उनले जानकारी दिए ।

    साथै नेपाल-भारतबीचका विभिन्न संयन्त्रहरूको छलफल आगामी दिनमा अगाडि बढ्ने भएका मन्त्री ज्ञवालीले बताए । दुवै मुलुकको उच्च स्तरको दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक हुने तय भएको पनि उनले जानकारी दिए । भारतले बैठकको आयोजना गर्ने तयारी गरेको उनको भनाइ थियो ।

    त्यस्तै, दुवै मुलुकका ऊर्जा सचिवहरूको बैठक र वाणिज्य सचिवहरूको बैठक पनि हुन लागेको उनले बताए । ‘नेपाल-भारत सम्बन्ध समस्यालाई वार्ताबाट समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्ने बाटोमा अगाडि बढेको छ,’ मन्त्री ज्ञवालीले भने ।

    त्यस्तै, चीनका रक्षामन्त्री वेई फेङहेको भ्रमण नियमित भएको मन्त्री ज्ञवालीले बताए । दुवै देशका सेनाबीचको सहकार्यलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए ।

    चिनियाँ रक्षामन्त्रीको भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सन्धि र लेटर अफ एक्सचेन्जको कार्यान्वयनबारे छलफल भएको ज्ञवालीले बताए । दुवै छिमेकी मुलुकबाट भएका पछिल्ला भ्रमणले कोभिडले रोकेका अन्तर्राष्ट्रिय उच्चस्तरीय भ्रमण फेरि सुरु भएका र आगामी दिनमा पनि त्यसले निरन्तरता दिने ज्ञवालीको भनाइ छ ।

    ज्ञवालीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसँग भेटेको र भारतीय सेनाध्यक्ष एमएम नरवणेको भ्रमणबारे भने केही कुरा उल्लेख गरेनन् । सांसदहरूले भने ती भ्रमणबारे पनि सरकारको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

    सांसदहरू भीम रावल र दिव्यमणि राजभण्डारीले गोयल र नरवणेको भ्रमणबारे परराष्ट्रमन्त्रीले धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । गोयलले प्रधानमन्त्रीसँग सुटुक्क भेटेको बारे र नरवणेले नेपालको नक्सा जारी भएपछि दिएको अभिव्यक्तिबारे के कुरा भयो भन्ने स्पष्ट भन्नुपर्ने उनीहरूको भनाइ थियो ।

    ‘रअ’ प्रमुख भ्रमणको रिजल्ट आइसक्यो : परराष्ट्रमन्त्री ज्ञवाली

    भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय संसदीय समितिमा छलफलका लागि प्रवेश भएको छ । सत्तारुढ नेकपाकै सांसद भीम रावल तथा प्रतिपक्षी दलका सांसदहरूले समेत गोयल र प्रधानमन्त्री ओलीबीचको भ्रमणबारे प्रश्न गरेपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिएका छन् ।

    मन्त्री ज्ञवालीले सांसदहरू पुरानै कुरामा अडेर बसेको भन्दै व्यंग्य पनि गरेका छन् । ‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ‘उहाँ रअ प्रमुखका रूपमा नेपाल आउनुभएको होइन । प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो ।’

    भ्रमण पारदर्शी नभएको भन्दै रावल र कांग्रेस सांसद प्रकाशमान सिंहले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले थपे, ‘कूटनीतिमा यस्ता खालको संयन्त्रहरू, माध्यमहरू प्रयोग हुन्छन् कि हुन्नन् माननीयज्यू ?’

    दुई देशबीच सम्बन्ध तिक्त रहेको बेला अन्य विकल्प लगाएर छलफल हुने गरेको ज्ञवालीको भनाइ थियो । ‘कहिले व्यापारी प्रयोग हुन्छन्, कहिले धार्मिक, सांस्कृतिक, नागरिक समूह प्रयोग हुन्छन्,’ उनले थपे, ‘नाकाबन्दी भएको बेला तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई पठाएको होइन र ? त्यसकारण यसलाई (सामन्तकुमार गोयलको भ्रमण) ठूलो विषय बनाउनु पर्दैन ।’

    गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने ज्ञवालीको तर्क थियो । प्रधानमन्त्री ओलीसँग भेट गरेको कुरा सार्वजनिक गरिएकाले त्यलाई अपारदर्शी भन्न नहुने ज्ञवालीको तर्क थियो ।

    गोयलको भ्रमणपछि भारतीय सेनाध्यक्ष एमएम नरवणे, विदेश सचिव हर्षवर्द्धन श्रृंगलालगायतको भ्रमण भएकाले रिजल्ट आएकोतर्फ ज्ञवालीले संकेत गरेका हुन् । गोयलले भ्रमण गरेर फर्किएपछि भारतीय सेनाध्यक्ष नरवणे र विदेशसचिव श्रृंगला नेपाल आएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ